My understandings… my thoughts

June 24, 2007

नेपालीपन

Filed under: manoz

नेपाली हुनलाई नेपालीपन चाहिन्छ, पक्का हो। तर, नेपालीपन केलाई भन्ने? के हो नेपालीपन? एक साँझ साथीभाइमाझ यसै कुरा चल्यो। भूमण्डलीकरणको यस युगमा खानपिन, रहनसहन, पहिरन सबै एकनासे भइसके। त्यसैले लवाइखुवाइले मात्र नेपालीपनलाई परिभाषित गर्दैन। दुईचार क्वार्टर रित्याएपछि साथीभाइहरू निष्कर्षमा पुगे― नेपालीपन भनेको यस्तो चारित्रिक विशेषता हो, जो अरूमा पाइन्न। जुन बानीबेहोर किमार्थ बदलिन सकिन्न। के के हुन् ती बानीबेहोर? साथीभाइले निकालेको सूची यस्तो छः १. खकार्नुः मुख धुँदा, दाँत माझ्दा र खाएर चुठ्दाखेरि र अरू बेला पनि नेपालीहरूको खकार्ने क्रिया विशिष्ट छ। यस क्रियामा विशिष्ट नेपालीपन पाइन्छ। नेपालीले जसरी घाँटीभित्रबाट खकार तानी खकार्छ त्यस्तो कसैले गर्न सक्तैन।

२. थुक्नुः थुक्न त सबैले थुक्छन्। तर नेपालीहरू जस्तो जहाँतहीँ र जहिलेसुकै थुक्दैनन्।

३. साइकलमा चुरोट खानुः चट्ट चुरोट सल्काएर मोटरसाइकल स्टार्ट गर्नु अनि हाँक्नु― त्यसमा नेपालीपन छ। खासगरी साइकलमा पाइडल मार्दै चुरोट तान्नु त झनै मौलिक नेपालीपन हो।

४. हर्न बजाउनुः प्रत्येक सवारी साधनमा हर्न हुन्छ जसलाई वेलाबखत बजाउनुपर्ने हुन्छ। तर नेपालीको हातमा परे त्यो हर्नले फुर्सद पाउँदैन लगातार बजिरहन्छ।

५. क्यु मिच्नुः क्यु लाग्न सिकाएको अङ्ग्रेजले हो। नेपाल सदैव स्वाधीन राष्ट्र थियो। अङ्ग्रेजले सिकाएको चालालाई नेपाली मान्दैनन्। क्यु मिचेर अघि बढ्नुमा आफूलाई स्मार्ट सम्झन्छन्।

६. मनपरी ओभरटेक गर्नुः ओभरटेक भनेको अर्कालाई उछिन्नु हो। दायाँबाट गरुँ कि बायाँबाट, के फरक पर्छ र?

७. हतारिनुः आजको समयमा हतार कसलाई पो हुँदैन र! तर अरू हतारिन्छन् कामले, नेपाली हतारिन्छन् विना कामले। हिँड्दा पनि अरूलाई ठेल्दै घचेट्दै हिँड्छन्। मोटरसाइकलको त कुरै भएन एकनिमेष पर्खन सक्तैनन्। माथि वर्णित गुणहरू खाँट्टी नेपालीपनका परिचायक हुन् साथीभाइको दृष्टिमा।

प्रिय पाठकवृन्द, तपाईंका दृष्टिमा पनि नेपालीपन जनाउने त्यस्ता केही उदाहरण छन् कि? Source : http://www.nepalihimal.com/2064/asar-1-15/ritubichar.html






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham